सहकारी पीडितहरु फेरि आन्दोलित, ११ बजे माइतिघरमा जम्मा हुने 

देशको आवाज
११ जेठ २०८१ ८:३२

काडमाडौँ । सहकारी पीडित बचकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गर्न लागेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो।

महासंघका अध्यक्ष कुशलव केसीले आज जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने जानकारी दिनुभयो । सरकारसँग विगतमा भएका कुनैपनि सम्झौता कार्यान्वयन नभएकोले सहकारी पीडितहरू तेस्रो चरणको आन्दोलनमा उत्रिनु परेको उहाँको भनाई छ । “माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्‍याली गर्छौं। र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं,’ उहाँले भन्नुभयो। अध्यक्ष केसी यसअघि पनि झण्डै तीन हप्ता आमरण अनसनमा बसेपछि स्वास्थ्य अवस्था नाजुक भइरहेका बेला सरकारले सम्झौता गरेको थियो ।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो। नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने अध्यक्ष केसीले जानकारी दिनुभयो ।आफूहरूले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र वर्तमान मन्त्री बलराम अधिकारीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो चरणको आन्दोलन गर्नु परेको उहाँले बताउनुभयो।

आफ्नो रकम पाउनु पर्ने बाहेक अरु केही माग आफूहरुको नरहेको र संगठनमा आवद्धता तथा जनसमर्थन बढ्दै गइरहेको पनि उहाँले जानकारी दिनुभयो । देशभरीका दर्जनौ सहकारीका हजारौ पिडितहरु आफ्नो संगठनमा आवद्ध रहेको र माग पुरा नहुदासम्म आन्दोलन झन चर्किदै जाने अध्यक्ष केसीले दावी गर्नुभयो ।

गृह मन्त्री लामिछानेको निर्वाचन क्षेत्रका बचतकर्तापनि आन्दोलनमा

बचत फिर्ता नगरी बन्द भएका चितवनका तीन ठूला सहकारी साहारा बहुउद्देश्यीय, सनराइज बचत तथा ऋण र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आजदेखि चितवनको भरतपुरमा प्रदर्शन गर्ने भएका छन् । बचत फिर्ता दिलाउनुको सट्टा सरकारले अपचलनमा दोषी देखिएकालाई जोगाउन खोजेको भन्दै उनीहरूले प्रदर्शनको तयारी गरेका हुन् ।

जिल्लामा २० हजारभन्दा बढी बचतकर्ताको बिचल्ली हुँदासमेत सरकारले रकम हिनामिनामा संलग्नलाई कारबाही गर्न सक्रियता नदेखाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् । ‘हामीले रवि लामिछानेलाई पटकपटक भेटेका छौं, कुनै बेला उहाँले म सरकारमा छैन, समाउने जिम्मा सरकारको हो भन्नु हुन्थ्यो, अहिले उहाँ पनि सरकारमै हो, खै त समाएको ?,’ साहाराका बचतकर्ता विनोद आचार्यले प्रश्न गरे ।

गृहमन्त्री लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा मुख्यालय रहेको साहारा सहकारीबाट बचतकर्ताको १२ करोड रुपैयाँ लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया प्रालिमा गएको देखिएको छ । गोर्खा मिडियाका सञ्चालक ओखलढुंगा घर भएका जीबी राई साहारा सहकारीका संस्थापक हुन् । मुख्य अभियुक्तलाई नवलपुर प्रहरीले समाते पनि चितवन प्रहरीले बेवास्ता गरेको पीडितको भनाइ छ ।