सम्पति विवरण :

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको अर्ब बढी सम्पति

देशको आवाज
८ जेठ २०८१ १६:३२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको चलअचल गरी अर्ब भन्दा बढी सम्पति रहेको पाईएको छ । मंगलबार सरकारले सार्वजनिक गरेको मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण अनुसार उनको सबै भन्दा बढी सम्पत्ति देखिएको हो । प्राप्त विवरण अनुसार जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको छ ।

यस्तै श्रीमती जुली कुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ रोपनी, ३ आना जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्टा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कट्टा जग्गा रहेको छ । यस्तै रघुवीरको नाममा धनुषामा १ बिघा १५ कट्टा जग्गा रहेको छ ।

यस्तै नगद तर्फ २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १५० केजी रहेको छ । ७ थान औँठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको छ । यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर, महिला लघुवित्त संस्थामा रु १ करोडको शेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको शेयर रहेको छ । यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कट्टा जग्गा रहेको छ ।