ककनी गौरीवन कृर्षि सहकारी संस्थाका कोषाध्यक्ष नेत्रबहादुर नेम्बाङ पक्राउ

देशको आवाज
१३ माघ २०८० १२:३७

ओखलढुंगा,१३ माघ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष नेत्रबहादुर नेम्बाङ (नरेश) लाई पक्राउ गरेको छ । सहकारीका बचतकर्ताले दिएको ठगी सम्बन्धी कसुर मुद्दामा प्रतिवादी रहेका पाँचथर इङबुङ घर भई ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ भैरबटोल बस्ने ४८ वर्षीय नेम्बाङलाई पक्राउ गरेको हो । नेम्बाङ जनता समाजवादी पार्टी ओखलढुंगाका नेता समेत हुन् ।

उनलाई हिजो सिद्धिचरण नगरपालिका ६ जन्तरखानीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यसअघि सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्री पक्राउ परिसकेका छन् । गएको मंसिर १५ गते ६५ जना बचतकर्ताले प्रहरीमा ठगीको जाहेरी दिएका थिए । हालसम्म ५९ लाख बराबरको रकम ठगी भएको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले बताए । उक्त सहकारीका अझै २ जना सञ्चालक फरार रहेको प्रहरीको भनाई छ । जाहेरी दिने पीडितको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ ।