ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

देशको आवाज
१२ माघ २०८० २०:३५

ओखलढुंगा,१२ माघ । बचतकर्ताको रकम ठगी गर्ने ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका सचिव जिल्ला समेत रहेका सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

चम्पादेवी गाउँपालिका–९ बिलन्दु स्थायी घर भएका अध्यक्ष सुनुवारलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट र मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुङ्गाका पदमबहादुर खत्रीलाई घरैबाट बुधवार पक्राउ गरिएको प्रहरी निरीक्षक बलिष्टार सिंहले बताए ।

पक्राउ पुर्जी जारी भएपछि ककनी गौरीवन सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालन समितिका पदाधिकारी फरार भएका थिए । सहकारी अन्य सञ्चालक समितिका पदाधिकारी पनि फरार छन् । उनिहरुको तीब्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सहकारी प्रकरणमा जोडिएका थप पीडित र प्रमाणको खोजीमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा जुटेको छ । यसअघि ६५ जनाले प्रहरीमा ठगीको जाहेरी दिएका थिए । हालसम्म ५९ लाख बराबरको रकम ठगी भएको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले बताए ।