अर्थमन्त्रालले आन्तरिक रुपमा अर्धवार्षिक समीक्षा शूरु

देशको आवाज
५ माघ २०८० १९:५४

काठमाडौं,५ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थ मन्त्रालयले आन्तरिक रुपमा अर्धवार्षिक समीक्षा सुरु गरिसकेको बताएका छन्। चालु आर्थिक वर्षमा राखेको लक्ष्यमा आएको समस्या, बजेट खर्च र आम्दानीको विषयमा भएको समस्यामा समेत समीक्षा गरिरहेकाे उनले बताएका हुन् ।

बजेट कार्यान्वयन प्रक्रियामा आइरहेको समस्या, भइरहेको सुधार र थप हस्तक्षेपको खाँचो भएका क्षेत्रका विषयमा सुक्ष्मरुपमा विश्लेषण भइरहेको मन्त्री महतले बताए । उनले भने `बजेट कार्यान्वयनको समीक्षा सर्वसाधारणले पनि गरिरहेका छन् र मन्त्रालयले आन्तरिकरुपमा पनि गरिरहेको छ ।´

बजेट बनाउँदा देशको आवश्यकता सम्बोधन होस् भनेर सबैतिरबाट आएको र आउने मागलाई समेट्नुपर्ने दबाब हुनेगरेकाे उनकाे भनाई छ।`मैले बजेट प्रस्तुत गर्नुअघि नै बजेटको आकार बढाउनुपर्ने परिवेश आएको बताएको थिएँ´, उनले भने `हाम्रो आम्दानी र खर्च गर्न यावत् समस्या छन् । महत्त्वाकांक्षी बजेट प्रस्ताव गरेपछि आम्दानीको लक्ष्यसमेत त्यही किसिमबाट तय गर्नुपर्छ । महत्त्वाकांक्षी बजेटले राखेको लक्ष्यअनुसारको काम नभए पनि प्रगति देखिएको छ । गत आर्थिक वर्षको तुलनामा राजस्व र खर्च गर्ने क्षमतासमेत बढेको छ ।´

आगामी वर्षकाे बजेटका सम्बन्धमा सराेकारवाला पक्षसंग समयमै छलफल गरि आवश्यक सुझाव सल्लाहा अनुसार अघि बढ्ने उनकाे भनाई छ ।