मौलिक उत्पादनको चौरासी व्यञ्जन मेला : ‘सात प्रदेश–७ परिकार, सात पन्छी – ७ स्वाद’

देशको आवाज
२६ पुष २०८० २१:२९

काठमाडौँ, पुस २६ । मौलिक बजार तथा मौलिक भान्छाघरले मौलिक उत्पादनको चौरासी व्यञ्जन मेला आयोजना गर्ने भएको छ । माघेसंग्रातिको विशेष अवसरमा माघ १ देखि ७ सम्म काठमाडौंको बुढानिलकण्ठ –१० कपन, आकाशेधारा नजिक गैह्रीगाउँमा चौरासी व्यञ्जन मेला आयोजना गर्ने तयारी गरिएको मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले बताए ।

‘बसे पनि शहर, गाउँ कैँ खाने रहर, स्वादका लागीभन्दा स्वास्थ्यका लागि खाऔँ’ भन्ने मूल नाराका सञ्चालन गर्न लागिएको उक्त मेलामा ७ प्रदेश–७ परिकार, ७ पन्छी – ७ स्वाद, ७ संस्कृति–७ पहिरन, सातै दिन सांस्कृतिक साँझको व्यवस्था हुने दाहालले जानकारी दिए । नेपालको ७५३ वटै स्थानीय तहका विभिन्न प्रकारका स्थानीय उत्पादन तथा परिकारहरुलाई प्रदर्शनीमा राखी मौलिक उत्पादन प्रवद्र्धन गर्ने मेलाको उदेश्य रहेको छ ।

मौलिक उत्पादन तथा परिकारको विविधिकरण गर्दै बजारीकरणमा टेवा पु¥याउने, स्थानीय उत्पादनको आर्थिक, सामाजिक, साँस्कृतिक महत्व र आवश्यकताको बारेमा जानकारी लिने, स्थानीय उत्पादन तथा परिकार ब्रान्डिङ गरी खरिद बिक्री सहज बनाई स्थानीय तहमा युवा तथा महिलाहरुलाई रोजगारी तथा स्वरोजगारिको अवसर सृजना गर्ने मेलाको प्रमुख उदेश्य रहेको दाहालले बताए । मेलालले स्वदेशमै कृषि उत्पादन अभिवृद्धि तथा विविधिकरण गरि जैविक विविधता संरक्षण, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, उद्यमशिलताको विकास गर्दै आयात प्रतिस्थापन गर्दै हाम्रा रैथाने उत्पादन, मौलिक चाडपर्व तथा विशेष परिकारहरुको महत्व बुझाउन सहयोग पुग्ने उनको विश्वास छ ।

यस्ता छन मेलाका मुख्य आकर्षण :

– मेलामा १५ भन्दा बढी स्थानीय तहहरुसंगको सहकार्यमा स्थानिय पालिकाको उत्पादनको स्टल रहने ।
– ४२ व्यञ्जनको बुफेट रहने ।
– आगन्तुकहरुलाई १ सेट परिकार निःशुल्क चाख्न पाउने व्यवस्था गरिने छ ।
– ५०% छुट मुल्यमा खाने र लैजाने परिकारहरुको प्याकेज रहनेछ ।
– स्थानीय उत्पादनहरु सुपथ मुल्यमा उपलब्ध हुनेछ ।
– उत्पादन तथा परिकार विविधिकरण सम्बन्धि तालिम संचालन हुनेछ ।
– मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउन विभिन्न प्रतियोगिता हुनेछ ।
– माघे संक्रान्ति विशेष परिकारहरु: १. तिलको लड्डु २. चाकु , ३. घ्यु र तेल , ४. खिचडी , ५. बारा, ६. फापरको फुरौला,  ७. सख्खरखण्ड, पिडालु, फर्सी ।

प्रदेश विशेष परिकारहरुः

  • कोशी प्रदेश –  किनेमा र याङ्गबेन (राई, लिम्बुको विशेष खाना)
  •  मधेश प्रदेश – भक्का बगिया (तराई मधेशको विशेष खाना)
  •  बाग्मती प्रदेश –योमरीरमासको बारा (नेवार जातीको विशेष खाना )
  •  गण्डकी प्रदेश – पोखरेली खीर र सेलरोटी (गण्डकी प्रदेश विशेष खाना)
  •  लुम्बिनी प्रदेश  – खिचडी र ढिकृी (थारु जातीको विशेष खाना)
  •  कर्णाली प्रदेश  – मार्सीको कसार र खाना सेट (कर्णाली प्रदेश विशेष खाना)
  • सुदुरपश्चिम प्रदेश – माडा र रोटा (सुदुरपश्चिम प्रदेश विशेष खाना)

मेलाका अन्य आकर्षणहरु

  • परम्परागत सीपमा आधारित ढिकी, जातो, घट्ट ठेकी लगाएतको प्रत्यक्ष अवलोकन गर्न पाइनेछ ।
  • नेपालको ७५३ वटै स्थानीय तहमा उत्पादन भएका स्थानिय उत्पादनको खण्ड रहेको मौलिक बजार, मौलिक संग्राहलय, सांस्कृतिक ग्यालरी हल, मौलिक भान्साघर, अर्गानिक फार्मिंङ सहितको मौलिक परियोजना अवलोकन गर्ने अवसर ।
  • सांस्कृतिक कार्यक्रमको साथमा मेलामा आउनु हुने अथितिहरुसँग मौलिक संस्कृति, परिकार तथा स्थानीय उत्पादनको बारेमा अनुभवको तथा यिनीहरुको सम्भावना र चुनौतीको बारेमा बहस तथा अनुभव आदान प्रदान गरिने छ ।
  • कृषक, कृषि उद्यमी, युवाहरु तथा कुनै मौलिक तथा स्थानीय उत्पादनको स्टल राख्न चाहने व्यक्ति, संंस्था आदिलाई स्टल राखी आफ्नो उत्पादनको प्रवद्र्धन गर्ने गराउने अवसर सृजना गर्ने ।