डेढ वर्षदेखि १४ लाख सेवाग्राहीले पाएनन सवारी लाइसेन्स

देशको आवाज
२१ पुष २०८० ९:५३

काठमाडौं,२१ पसु । विगत डेढ वर्षदेखि १४ लाख १९ हजार सेवाग्राहीले प्रक्रिया पूरा गरे पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन पाएका छैनन् । प्रक्रिया पूरा गरेकाहरू अहिले राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । नवीकरण र नयाँ लाइसेन्स लिन प्रक्रिया पूरा गर्नेको संख्या १४ लाख १९ हजार ३ सय ७ छ । बिदाको दिनसमेत काम गर्ने हो भने यतिका कार्ड छाप्न ३ सय २२ दिन लाग्छ । हाल रहेको मेसिनको एक दिनको छपाइ क्षमता ४४ सय छ । जब कि स्न् २०२२ अगस्ट ९०७९ भदौ० देखिको कार्ड प्रिन्ट हुन बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

सात महिनादेखि कार्ड नभएर लाइसेन्स छपाइ बन्द छ । विभागले उच्च शिक्षा अध्ययन, वैदेशिक रोजगारी, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ विभिन्न देशमा खटिने सेना, प्रहरीलगायतलाई अत्यावश्यक रहे मात्र अहिले लाइसेन्स उपलब्ध गराउने गरेको छ । जुन कार्डको मौज्दात संख्या पनि ५२ हजार छ । अन्य सेवाग्राहीको हकमा राजस्व तिरेको चिर्कटो बोकेर हिँड्नुको विकल्प छैन ।

अहिले दिनमै ३ हजारभन्दा बढी कार्डको माग छ । विभागले लाइसेन्स छापेर प्रदेशअन्तर्गतका यातायात कार्यालयमा पठाउँछ । जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले कार्ड समयमै डेलिभरी नगर्दा छपाइ प्रभावित भएको विभागको भनाइ छ । उक्त कम्पनीले १९ करोड ८८ लाख १४ हजार रुपैयाँमा कार्ड आपूर्तिको ठेक्का लिएको छ । जेठभित्र उपलब्ध गराउने गरी ठेक्का सम्झौता भए पनि कम्पनीले अहिलेसम्म कार्ड उपलब्ध गराएको छैन ।

बिमल खतिवडाले कान्तिपुरमा लेखेका छन् ।