नेपाल–भारत दिर्घकालिन हितकालागि चार समझदारी

देशको आवाज
२० पुष २०८० १९:४९

काठमाडौं,२० पुस । नेपाल भारतबीच दुई देशीय दिर्घकालिन हितकालागि चार परियोजनाहरुमा समझदारी भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतासहित चारवटा सहमतिमा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको नेपाल–भारत उच्चस्तरीय संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता र सहमति भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।  परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत र भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा भएको उक्त सम्झौतामा ऊर्जा सचिव गोपाल सिग्देल र भारतका समकक्षी पंकज अग्रवालले हस्ताक्षर गरेका छन् ।

त्यस्तै भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गतको रकम २० करोड रुपियाँ पु¥याउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री साउद र भारतका विदेशमन्त्री जयशंकरको उपस्थितिमा उक्त समझदारीमा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका हुन् ।

यो रकम भारतले भारतीय दूताबासमार्फत आफैं परियोजनाहरूको छनोट गरी त्यसको कार्यान्वयन गर्न सिधै खर्च गर्न पाउँछ । यसअघि भारतीय दूतावासले एचआईसीडीपीअन्तर्गत ५ करोड रुपियाँसम्म मात्रै खर्च गर्न पाउँथ्यो । त्यस्तै मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने समझदारी पनि भएको छ । यसका लागि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र डिपार्टमेन्ट अफ स्पेसअन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडबीच सझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसै चौथोमा नेपाल विद्युत् प्राधिकरण र भारतको नेसनल थर्मल पावर कर्पोरेशनबीच नवीकरणीय ऊर्जा विकास क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले नेपाल भ्रमणका क्रममा जाजरकोटका भूकम्पपीडितको राहतका लागि पाँचौं चरणको सामग्री समेत हस्तान्तरण गरे । यसैबीच परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरले तीनवटा अन्तरदेशीय प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरेका छन् ।  १३२ केभीए क्षमताको ती प्रसारण लाइनमा भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइन रहेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार र आर्थिक सम्बन्ध, भूमि, रेल र हवाई कनेक्टिभिटी परियोजना, सुरक्षा सहकार्य, कृषि, ऊर्जा, जलस्रोत, विपद् व्यवस्थापन, पर्यटन, नागरिक उड्डयन, दुई देशका जनताबीचको सम्बन्ध, सांस्कृतिक आदानप्रदान र विकास साझेदारीमा केन्द्रित रहेको बताइएको छ । यी सममझदारी र छलफलले नेपाल भारतबीचको सम्बन्धनलाई बलियो बनाउँदै दुई देशीय हितका लागि नयाँ उचाई दिन सक्ने विज्ञहरुले बताएका छन् ।  सदियौं पुरानो सम्बन्धलाई फराकिलो बनाउँदै दुबै देशका जनता–जनताबीच सम्म सहकार्य र सहयोग आदानप्रदान गर्नका लागि भारत सरकार नेपालसँग सधै सँगै रहेको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बताए ।