मध्यरातमा विनासकारी भूकम्पको ताण्डव, खोज,उद्धार र राहतमा सरकारसहित दलहरुको सक्रियता

देशको आवाज
१८ कार्तिक २०८० २१:२९

काठमाडौं,१८ कात्तिक । शुक्रबार मध्यरातमा गएको विनासकारी भूकम्पको तान्डबले जाजरकोट र रुकुमपश्चित शोकमा डुबेको छ । राती ११ः४७ मा जाजरकोटको रामीडाडाँ केन्द्र भएर गएको ६.२ म्याग्नेच्यूटको भूकम्पले अकस्मात ठूलो जनधनको क्षति सहित पुरै जिल्ला शोकमग्न बनायो भने छिमेकी जिल्लाहरु समेत त्रासदीपूर्ण अवस्थामा गुज्रनु परेको छ ।

एक सय ६० बढी मानवीय क्षति, करिब २ सय घाइते र करोडौंको भौतिक क्षति हुनेगरी भएको उक्त दूर्घटनापश्चात देशको पुरै ध्यान जाजरकोट र रुकुम तर्फ केन्द्रीत छ । भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सरकार र राजनीतिक दलहरु, सम्बद्ध निकायहरु आवश्यक खोज उद्दार एवं राहतमा सक्रिय भएका छन् । छिमेकी मुलुक भारत र अमेरिकाले समेत चासोकासाथ हेरेका छन् । नेपाल सरकार, प्रदेश सरकारसहित रानीतिक दलहले पीडितहरुको उद्धार र राहतमा परिचालित हुन मातहतका पंक्तिलाई खटाएका छन् । त्यस्तै सञ्चार माध्यामहरुले संयमतापूर्वक नागरिकलाई सूसुचित गराउने र खोज उद्दार तथा राहतका लागी सहयोग पुर्याइरहेका छन् ।
नेपाल सरकारले प्रभावितको खोज÷उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५÷५ करोड रुपैया पठाउने निर्णय गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको र उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने उहाँको भनाई छ । शनिबार विहानै प्रधानमन्त्री प्रचण्ड घटनास्थलमा पुगेर खोज उद्दारको कार्यलाई सहजीकरण गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले प्रयोग गरेको हेलिकोप्टर उद्दारका लागी जाजरकोटमै छोडेर उहाँ नियमित उडानका काठमाण्डौं आउनुभएको थियो ।

सरकार र सरकार बाहिर रहेका राजनीति दलहरुले पनि भूकम्पडितहरुको दुखमा मल्हम लगाउन सक्रिय बनेका छन् । दलहरुले तत्काल खोज, उद्धार र आपतकालीन राहतका लागि पार्टी पंक्तिलाई आहृवान गरे । सत्तारुढ दल नेपाली कांग्रेसले वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न आहृवान गरेको छ । ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपिल गर्दछ’, वक्तव्यमा उल्लेख छ । कांग्रेसले पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख नेपाल सरकारको कोषमा उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
नेकपा एमालेले घाइतेहरुको उद्धार र उपचारमा परिचालित हुन पार्टी पंक्तिलाई अपिल गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले गरेको अपिलमा देशभरका नेता–कार्यकर्तालाई उपचारमा जुट्न आग्रह गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताउनुभयो । उहाँले सुर्खेत, नेपालगञ्ज र काठमाडौंका कमिटीहरुलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलन गर्न मातहतका कमिटीहरुलाई निर्देशन गर्नुभएको थियो । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले पनि आवश्यक खोज उद्दार र राहतका सहयोग पुर्याउन पार्टीपंतिलाई आव्हान गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को टोली पनि तत्काल उद्धार कार्यमा परिचालित हुन पार्टीमा सर्कुलर पठाएको छ । ‘राप्रपाले भूकम्प प्रभावित क्षेत्रमा पुगी उद्धार कार्यमा संलग्न हुन, राहत र पुनस्र्थापनामा जुट्न पार्टीको सबै निकायमा सर्कुलर गरेको छ’, पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वस्थ्यकर्मी, स्वयंसेवक परिचालन, उपचारमा आवश्यक सामग्री ब्यवस्थापन र अन्य आवश्यक सहयोग गर्ने जनाएको छ । भूकम्प प्रभावित क्षेत्र नजिक रहेका र सम्बन्धित क्षेत्रका सबै दलका नेता तथा कार्यकर्ताहरु उद्धार कार्यमा परिचालित भएका थिए । भूकम्प पिडितहरुका लागी नेपाल सरकारलाई भारतका प्रधानमन्त्री नेरन्द्र मोदी र अमेरिकी राजदुतावासले समेत आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रदेशको हातेमालो

वाग्मती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहतस्वरूप एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भूकम्पपीडितलाई वाग्मती प्रदेश सरकारको एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । त्यस्तै कोशी प्रदेश सरकारले भुकम्प पिडितहरुको सहयोगका लागी एक करोड राहत सहयोग गर्ने निर्णय गरेको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ ।शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको थियो ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो । उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने उहाँको भनाइ छ । साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको टोली खटाएको छ ।