जेलमै दशैं मनाउन विवश सात हाइप्रोफाइल व्यक्तिहरु

देशको आवाज
४ कार्तिक २०८० १२:४६

काठमाडौं,४ कार्तिक । मुलुकभर बडादशैंको खुसियाली छाइरहेका बेला केही चर्चित राजनीतिक, उच्च पदस्त कर्मचारी र व्यापारीहरु समेतको यसपालिको दशैं जेलमै वित्ने भएको छ । विभिन्न भ्रष्टाचार र ठगी प्रकरणका अदालतको आदेशले थुनामा रहेका उनीहरुले दशैं जेलमै बिताउनुपर्ने भएको हो।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण

दशैंमा सधैं कार्यकर्ताले घेरिएर रहने नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले यस पटक जेलमै दशैं मनाउनुपर्ने भएको छ। जिल्ला अदालत काठमाडौंको आदेशले पूर्पक्षका लागि थुनामा रहेका उनलाई रिहाइ गर्ने आदेश उच्च अदालत पाटनले समेत नदिएकाले उनले जेलमा नै दशैं मनाउनुपर्ने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले खाणलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

खाण २०८० असार १ गतेदेखि सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन्। गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा सहयोग गरेको भन्दै उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा सुुनुवाइ गर्दै अदालतले उनलाई थुनामा पठायो। त्यस विरुद्ध खाणले उच्च अदालत पाटनमा निवेदन दिएका छन्। तर उक्त निवेदनमा अदालतले एकपछि अर्को आदेश गर्दै टार्दै आएको छ। काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तीमध्येका एक पूर्व गृहमन्त्री खाण पनि थिए।

पूर्व उपपप्रधानमन्त्री टोपबहादुर रायमाझी

माओवादी आन्दोलनबाट उदाएका नेता टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमै जेलमा छन्। रायमाझी आफूमात्र नभई छोरासहित थुनामा छन्।नेकपा विभाजन हुँदा माओवादी छोडेर एमाले भएका उनी पार्टीको सचिव समेत भएका थिए। अर्घाखाँचीबाट प्रतिनिधि सभामा जितेर सांसद भएका उनी हाल निलम्बित अवस्थामा छन्। उनी नेपाली कांग्रेसका नेता खाणसँगै जेलमा छन्। यी दुई नेता ३५ वर्षअघि पञ्चायतकालमा सँगै जेल परेका थिए। २०४५ सालमा पञ्चायत विरुद्ध उत्रँदा उनीहरूलाई थुनिएको र तीन महिनापछि छुटेका थिए।

एउटै जेलमा रहे पनि रायमाझीलाई भने भेट्ने मानिस कम आउने गरेका छन्। उनले माओवादी छोडेकाले उक्त पार्टीका कार्यकर्ता र नेता आउँदैनन्। उनले पनि जिल्लाको फैसला विरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन्। उक्त निवेदन खाणको मुद्दासँगै राखिएको छ। त्यस्तै, उनीसँगै छोरा सन्दीप रायमाझी पनि छन्। सन्दीपलाई अलग कोठामा राखिएको छ। उनीहरुले जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी उच्चमा गरेका छन्। तर उक्त कुराको सुनुवाइ हुँदै आदेश भने उनीहरुको पक्षमा हुन सकेको छैन।

सचिव टेकनारायण पाण्डे

२०८० वैशाख २० गते उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अनुसन्धानका लागि भन्दै पक्राउ गर्‍यो। गृहसचिव हुँदै उपराष्ट्रपति कार्यालय पुगेका पाण्डेलाई केही दिन पछ्याउँदै पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्नुको कारण थियो, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिनु। उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भयो र असोज १ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठायो। गृहसचिव हुँदा उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने कार्यमा घुस लिएको अभियोग आरोपपत्रमा लगाइएको छ। उनले पनि जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दिएका छन्। सचिव पाण्डेको निवेदन पनि खाण र रायमाझीको निवेदनसँगै राखिएको छ।

व्यवसायी इच्छाराज तामाङ

संविधान सभाका सदस्य एवं एमाले नेता समेत रहेका व्यवसायी इच्छाराज तामाङ सर्वसाधारणको वचत रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका छन्।२०७९ को १७ असोजमा दशैं मनाउने तयारीमा रहेको अवस्थामा उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो। जेलबाट बाहिर बसेर मुद्दा लड्नका लागि जिल्ला अदालतका न्यायाधीशलाई कानुन व्यवसायीमार्फत घुस दिन खोजेको अडियो सार्वजनिक समेत भयो। उनी डिल्लीबजार कारागारमा छन्। संविधान सभामा एमालेबाट समानुपातिक कोटामा सभासद समेत बनेका तामाङ अर्बपति व्यापारी थिए।

२०७८ पुसमा सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान गर्ने आदेश जिल्ला अदालतले गरेको हो। संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाएको छ। उनको निवेदन उच्च अदालत पुगे पनि उच्चले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी फैसला नभएसम्म थुनामै बस्नुपर्ने भएको छ। सिभिल सहकारी ठगीमा सीआईबीले पक्राउ गरेका १२ मध्ये ९ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने अदालतले आदेश गरेकोमा तामाङलाई भने थुनामा पठाएको थियो।

एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए। पूर्वसांसद समेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियम विपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए। ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो।

पूर्व डीआईजी रञ्जन कोइराला

सशस्त्र प्रहरीकाका डीआईजी रहेका रञ्जन कोइराला एक पटक रिहा भएर दोस्रो पटक जेलमा छन्। श्रीमतीको विभत्स हत्या गरेको आरोपमा दोषी ठहर भएपछि उनी जेल परेका थिए। केन्द्रीय कारागारमै सजाय काटिरहेका उनी तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको फैसलाबाट छुटेका थिए। तर सर्वोच्चले नै उक्त फैसला उल्ट्याएपछि उनी थुनामा रहेका छन्। डीआईजी कोइरालाले पहिले पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए। उनलाई २० वर्ष कैद सजाय सुनाइएको थियो। पत्नी हत्याको अपराध सावित भए पनि जबराको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए। पछि सरकारले पुनरावेदन गरेपछि उनको फैसला उल्टियो।

राहुल महरा

माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पछिल्लो पटक जेलमा पुगेका व्यक्ति हुन्। भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा उनी जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन्। पहिलो अभियोगपत्रमा छुटेका महराको विषय सार्वजनिक सञ्चार मााध्यमले प्रश्न उठाएपछि पुन अनुसन्धान गरी पुरक मुद्दा दायर गरेको थियो। उक्त अनुसन्धानमा माओवादी केन्द्रका उपाध्यक्ष महरा बाबु(छोरामाथि केन्द्रित थियो। तर सीआईबीले महरालाई सरकारी साक्षीको रुपमा मात्र पेस गरेर राहुललाई मात्र मुद्दा दायर गर्नुपर्ने राय दियो। उक्त राय अनुसार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। असोज २६ गते जिल्ला अदालतते उनलाई थुनामा पठाएको हो।

भुटानी नेता टेकनाथ रिजाल

भुटानी शरणार्थी प्रकरणमा परेका टेकनाथ रिजाल पनि थुनामा रहेका छन्। २०८० जेठ ४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ परेको थियो। झापाबाट बयानका लागि उनलाई काठमाडौंमा ल्याइएको थियो। जिल्ला अदालतमा रिजाल सहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरियो। जिल्ला अदालतले उनलाई पनि पुर्पक्षका लागि थुनामा पठायो। उक्त निर्णय विरुद्ध उच्च अदालतमा निवेदन दिए पनि हालसम्म रिहा गर्ने आदेश भएको छैन।

समीरमान बस्नेत

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार गरी हत्या गरेको अभियोगमा गुन्डा नाइके समीरमान बस्नेत थुनामा छन्। २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को प्रयागचोकमा गोली प्रहार गरी गौचनको हत्या गरिएको थियो।उक्त घटनाको अनुसन्धानमा समीरको संलग्नता देखिएपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो।